01/06/2026
सोच्दा दुःख लाग्छ कि हाम्रो गोर्खे हाटप्रति हाम्रै नेपालीहरूमा सकारात्मक सोच र समर्थन पर्याप्त रूपमा छैन जस्तो लाग्छ। हप्तामा एक दिन, आइतबार मात्रै स्टलहरू राखिन्छन्। तर दुःखको कुरा, धेरै मेहनत गरेर सामान ल्याउँदा पनि कतिपयले “तरकारी महँगो भयो” वा “आज हाटमा केही तरकारी नै छैन रहेछ” भन्दै फर्किनुहुन्छ।
हप्तामा एक दिन त हामी सबैले गोर्खे हाटलाई साथ र समर्थन दिनुपर्छ। त्यहाँ हाटमा बसेका मानिसहरू रहरले होइन, आफ्नो जीविका चलाउन र आफ्नो अस्तित्व जोगाउन आएका हुन्।
धेरैले “पहिले त कति धेरै स्टलहरू लाग्थे, अहिले त गोर्खे हाट नै सुक्यो” भनेर टिप्पणी गर्नुहुन्छ। तर स्टलहरू किन घट्दै गए भन्ने विषयमा सायद धेरैले सोच्नुभएको छैन होला। यदि ग्राहकहरूले हरेक हप्ता झोला बोकेर “हामी जैविक (अर्गानिक) तरकारी किन्छौँ, आफ्नै पहाडमा उत्पादन भएको तरकारी खान्छौँ” भन्ने सोचका साथ आउनुभएको भए, Kurseong वरिपरिबाट आउने व्यापारीहरूले पनि अझ धेरै मात्रामा तरकारी ल्याउन सक्थे होला।
त्यसैगरी, हाम्रै दाजुभाइ, दिदीबहिनीहरूले बनाएका सामानहरू किनेर प्रोत्साहन दिनुभएको भए, उहाँहरूमा अझ उत्साह बढ्थ्यो होला। नयाँ–नयाँ परम्परागत परिकार र स्थानीय उत्पादनहरू तयार गर्ने जोश र हौसला पनि अझ बढ्थ्यो होला।
त्यसैले यी कुराहरूमा पनि ध्यान दिनुहुन अनुरोध छ। आखिर Kharsang गोर्खे हाट किन अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन भन्ने विषयमा हामी सबैले सोच्ने बेला आएको छ।